काठमाडौं । आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपको लागि ओमानले १४ सदस्यीय टोली घोषणा गरेको छ।
जिशान मक्शुदको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो ।
टोलीको उपकप्तानमा अकिब ईलियास रहेका छन् । ईलियासले २०२० मा नेपालविरुद्धको लगातार दुई एकदिवसीय अन्तराष्ट्रियमा शतक प्रहार गरेका थिए ।
'यदि हामीले उपाधि जित्यौं भने यो हाम्रा लागि ठूलो अवसर हो । विश्व क्रिकेट लिग टू मा हामीले निकै राम्रो प्रदर्शन गरेका थियौं । जहाँ हामी सात राष्ट्रमध्ये दोस्रो भयौ । प्रतियोगितामा राम्रो नतिजा आउनेमा म निकै आशावादी छु।' ओमानका मुख्य प्रशिक्षक दलीप मेन्डिसले बताए ।
ओमानका कप्तान जिशान मक्सुदका अनुसार ओमानको टोली सोमबार नेपालका लागि प्रस्थान गर्नेछ । र टोली च्याम्पियन बन्नेमा एकदमै आत्मविश्वासी रहेको छ ।
ओमानले नेपालमा केही अभ्यास खेल खेल्नेछ ।
'हामी प्रतियोगिताका लागि कडा तयारी गरिरहेका छौं । हामीले केही अभ्यास खेल खेलेका छौं र हाम्रो खेलाडीहरु राम्रो अवस्थामा रहेका छन्।'अनुभवी अलराउन्डर समेत रहेका मक्सुदले भने, 'विश्वक्रिकेट लिग टू का क्रममा हामीले नेपालमा खेलेका थियौ । त्यहाँको बारेमा हामीलाई राम्रो जानकारी रहेको छ ।'
घोषित टोलीमा आक्रामक ब्याटर जतिन्दर सिंह तथा तिव्र गतिका बलर बिलाल खान लगायतका रहेका छन् ।
समूह ए मा ओमानसँगै आयोजक नेपाल, कतार, मलेसिया र साउदी अरेविया छन् ।
ओमानले समूह चरणका दुई खेल मुलपानी र दुई खेल टियु मैदानमा खेल्नेछ । मुलपानीमा ओमानले १९ अप्रिलमा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।
टियु मैदानमा दोस्रो खेल २१ अप्रिलमा नेपालसँग तथा तेस्रो खेल मुलपानी मैदानमा २३ अप्रिलमा मलेसियासँग खेल्नेछ ।
समूह चरणको अन्तिम खेल टियु मैदानमा साउदी अरबसँग रहेको छ । नेपालसँगको टियुमा हुने खेल एकदिवसीय अन्तराष्ट्रियको हुनेछ । यो नेपालको ५० औं एकदिवसीय अन्तराष्ट्रिय रहने छ ।
समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान रहेका छन् ।
हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।
छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
ओमानको टोली
जिशान मक्सूद (कप्तान), अकिब इलियास (उपकप्तान), जय ओडेरा, कलीमुल्लाह, शोएब खान, कश्यपकुमार प्रजापति, अदील शफीक , जतिन्दर सिंह, मोहम्मद नदीम, सन्दीप गौड, बिलाल खान, अयान खान, नसीम खुशी, फैयाज बट्ट
