काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा अमेरिका विश्वकप छनोटमा स्थान बनाउने पहिलो टोली बनेको छ ।
विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेक्रममा अमेरिकाले जर्सीलाई २५ रनले पराजित गरेको हो ।
नामिबियाको युनाइटेड क्रिकेट मैदानमाभएको खेलमा अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको जर्सी ४७ ओभर ४ बलमा अलआउट हुदै २ सय ६ रन मात्र बनायो ।
जर्सीका लागि असा ट्रिविले १ सय ४ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । १७ रनमा क्रिजमा आएका ट्रिविले १ सय ४८ हुँदा आउट भए ।
बेन्जामिन वार्डले ६९ बलमा ४६ रन बनाउँदा जुलियसले २५ बलमा ३५ रन बनाए ।
अमेरिकाका लागि अलि खानले ७ तथा निसार्ग पटेलले २ विकेट लिए । एकदिवसीय अन्तराष्ट्रिय पहिलो पटक एकै ईनिङमा ७ विकेट पूरा गरेका खानले ९ ओभर ४ बलमा ३२ रन दिएर ७ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुदै २ सय ३१ रन बनायो ।
अमेरिकाका लागि ओपनर स्टेफन टेलरले १ सय बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
गजानन्द सिंहले ४१ तथा निसर्ग पटेलले २३ रन बनाए ।
जर्सीका लागि बेन्जामिन वार्डले ४ तथा इल्टन मिल्स र जुलिसले समान २/२ विकेट लिए ।
अमेरिकाको पाँच खेलबाट आठ अंक भएको छ । अमेरिकाले शिर्ष स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।
उता,जर्सीले भने चार खेलमा २ अंक मात्र बनाएको छ । जर्सीको एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने सम्भावना पनि कठिन बनेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।