काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा क्यानडा घरेलु टोलीसँग पराजित भएको छ ।
नामिबियाको वन्डुरस क्रिकेट मैदानमा भएको खेलमा क्यानडालाई १ सय ११ रनले पराजित गर्दै घरेलु टोलीले विश्वकप छनोट खेल्ने सम्भावना कायमै रहेको छ ।
नामिबियाले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको क्यानडा ४२ ओभर २ बलमा अलआउट हुदै १ सय ५६ रन मात्र बनायो ।
क्यानडाका लागि प्रगत सिंह र रविन्द्रपाल सिंहले समान ३४/३४ रन बनाए । म्याथ्यु स्पोर्सले ३२ तथा आरोन जोहान्सनले १५ रन बनाए ।
क्यानडाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका लागि ग्रेहार्ड इरास्मस,बेर्नाड स्कोट्ल्ज र पिंकी या फ्रान्सले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर घरेलु टोलीले पहिला ब्याटिङ गरेकोमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६७ रन बनायो ।
नामिबियाका लागि ओपनर शान फुचीले १ सय ७ बलमा ८३ रनको अर्धशतकीय ईनिङ खेले । जान ग्रिनले ३० बलमा ४५ तथा निकोलस डेभिनले ४० बलमा ४० रन बनाए ।
क्यानडाका लागि हर्ष थाकिर र कलिम सानाले समान २र२ तथा जिरिमाइ ग्रोडन,डिलोन हिलेगंर,कप्तान साद बिन जाफर र निखिल दत्तले समान १/१ विकेट लिए ।
प्रतियोगिताको अन्तिम खेल खेलेको नामिबियाले पाँच खेलबाट ६ अंक सहित दोस्रो स्थानमा रहेको छ । विश्वकप छनोटमा स्थान बनाउने नामिबियाको सम्भावना रहेको छ ।
यसका लागि बुधबार युएईले जर्सीसँग पराजित हुनु पर्ने छ ।
प्रतियोगितामा चौथो खेल खेलेको क्यानडाको एकदिवसीय अन्तराष्ट्रिय मान्यता लिन सम्भावना रहेपनि विश्वकप छनोटमा स्थान बनाउने सम्भावना भने समाप्त भएको छ ।
क्यानडाको ४ खेलमा ४ अंक सहित चौथो स्थानमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।