काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा अमेरिकाले जर्सीलाई २३२ रनको लक्ष्य दिएको छ
नामिबियाको युनाइटेड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुदै २ सय ३१ रन बनायो ।
अमेरिकाका लागि ओपनर स्टेफन टेलरले १ सय बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
गजानन्द सिंहले ४१ तथा निसर्ग पटेलले २३ रन बनाए ।
जर्सीका लागि बेन्जामिन वार्डले ४ तथा इल्टन मिल्स र जुलिसले समान २/२ विकेट लिए ।
आजको खेल जितेमा अमेरिकाको विश्वकप छनोटमा स्थान बनाउने सम्भावना लगभग पक्का हुनेछ ।
जर्सी पनि आजको खेलमा जित हात पारेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्तीको सम्भावना जिवित राख्न चाहन्छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।