काठमाडौं । मुलपानी क्रिकेट मैदानमा आगामी दिनमा धेरै भन्दा धेरै अन्तराष्ट्रिय प्रतियोगिता आयोजना हुने नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन् ।
आगामी बैशाख ५ गतेबाट नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगिताको लागि मुलपानीको माथिल्लो क्रिकेट मैदान पुननिर्माण भईरहेको छ ।
'हामीले आउने प्रिमियर कपमा एउटा नेपालको खेल यस मैदानमा गराउदै छौ । एसीसीले नेपालको खेल यहाँ राख्न मानिरहनु भएको थिएन । हामीले पहल गरे नै नेपालको एउटा खेल यहाँ राख्न सक्यौ । आगामी दिनमा यस्ता नेपालका खेलहरु यहाँ निरन्तर हुने नै छ ,' पाठकले खेलपाटीसँग भने 'यो सुरुआत हो आगामी दिनमा मुलपानीलाई अन्तराष्ट्रिय भेन्यु बनाउन क्यानले काम गरिरहेको नै छ ।'
मुलपानीको माथिल्लो मैदानमा पहिलो अन्तराष्ट्रिय खेलका रुपमा बैशाख ५ गते हङकङ र सिंगापुरबीचको खेल हुदैछ । मैदान तयारीको काम लगायतका अन्य पुननिर्माणका कामहरु अन्तिम चरणमा पुगेको समेत पाठकले बताए ।
'पुननिर्माणको काम राम्रो रुपमा अघि बढिरहेको छ । क्रिकेट मैदानमा आवश्यक ड्रेसिङ रुम लगायतको निमार्णको कामहरु अन्तिम चरणमा पुगेको छ । यो प्रतियोगितालाई भब्य र सभ्य रुपमा संचालनका लागि स्थानिय सरकारको सहयोगको प्रतिबद्धधता पनि दिनु भएको छ ,' उनले बताए ।
माथिल्लो मुलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनल समेत गरेर ११ खेल आयोजना हुदैछ ।