काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लखनउ सुपर जायन्ट्सलाई चेन्नाई सुपर किंग्सले २ सय १८ रनको लक्ष्य दिएको छ ।
चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर घरेलु टोलीले पहिला ब्याटिङ गरेको थियो ।
चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो ।
चेन्नाईका लागि ऋतुराज गायकवाडले ३१ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
अर्का ओपनर डेभोन कन्वेले २९ बलमा ४७ रन बनाए । पहिलो विकेटका लागि गायकवाड र कन्वेले १ सय १० रनको साझेदारी भएको थियो ।
अम्बादी राइडु १४ बलमा २७ रनमा अविजित रहँदा शिवम दुवेले १६ बलमा २२ रन बनाए । मोईन अलिले १३ बलमा १९ तथा कप्तान महेन्द्र सिंह धोनीले ३ बलमा १२ रन बनाए ।
लखनउका लागि मार्क वुड र रवि विष्नोईले समान ३/३ विकेट लिए । आवेश खानले १ विकेट आफ्नो नाम गरे ।
यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ । सानदार सुरुआत गरेको लखनउ दोस्रो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा आफ्नै घरेलु मैदानमा दिल्ली क्यापिटल्स माथी ५० रनको सानदार जित निकालेको लखनउ आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा जित हात पारेको लखनउ २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ ।
उता चेन्नाईले भने पहिलो खेल नै हारबाट सुरुआत गरेको थियो । उद्घाटन खेलमा गुजरात टाईटन्ससँग ५ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई पहिलो जितको खोजीमा रहने छ ।
पहिलो खेलमा हार सहित चेन्नाई अंकबिहिन रुपमा सातौं स्थानमा रहेको छ ।
नेदरल्यान्ड्ससँगको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलसँगै लखनउका क्विटन डि कक आईतबार राती नै चेन्नाईको लागि उडेका छन् । तर, आजको खेलमा भने उनको उपलब्धता हुने सम्भावना छैन ।
दिल्लिविरुद्धको पहिलो खेलमा ओपन गरेका कायल मेयर्सले नै लखनउ ईनिङको सुरुआत गर्ने छन् ।
चेन्नाईमा पनि दक्षिण अफ्रिकाका सिसन्डा मंगला तथा श्रीलंकाका महेश थिक्सना र मथिसा पथिराना उपलब्ध रहने छैनन् ।
चेन्नाईको पिचलाई स्पिन मैत्री मानिन्छ । भर्खरै यहाँ भएको भारत र अष्ट्रेलियाबीचको एकदिवसीय खेलमा १८ मध्ये ११ विकेट स्पिनरले लिएका थिए ।
हेड टु हेड :
चेन्नाई र लखनउबीच हालसम्म १ मात्र खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ ।