विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-ट्वान्टी प्रतियोगितामा दिल्ली युनाईटेड क्रिकेट क्लब र ओसिस काठमाडौं क्रिकेट क्लबले विजयी सुरुआत गरेका छन् ।
विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।
दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगन्जले १२.५ ओभरमा अलआउट भइ ९४ रनमात्रै बनायो । विरगन्जका लागि असिम अन्सारीले २९ रन बनाए । शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए ।
दिल्लीका मोहित पाण्डेले सर्वाधितक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । अंकित रोयले ३ विकेट र बैवप पालले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१७ रनको विशाल योफल खडा गरेको थियो । दिल्लीका रन्जित सिंहले ३७ बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । अभिरुप गुप्ताले ४९ रन बनाए । रोहित त्रिपालीटीले ४९ रनको योगदान दिए ।
विरगन्जका रामनरेश गिरी, दिपेश श्रेष्ठ र हरि शंकर साहले समान २– विकेट लिए ।
सोही दिन भएको दोस्रो खेलमा बजाज युथ क्रिकेट क्लब सप्तरी ११ लाई ५ विकेटले हराउँदै ओसिस क्वाटरफाइनलमा पुगेको छ ।
सप्तरीले दिएको १२९ रनको विजय लक्ष्य ओसिसले १५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओसिसका सम्राट भुसालले अविजित ३६ रन बनाए । सुजन थपलियाले २४ रन दिए । आदिर खानले १९ रनको योगदान गरे ।
सप्तरीका अनिल यादव, अभिषेक कार्की, पप्पु यादवले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय २८ रन बनाएको थियो । अमित यादवले २७ रन बनाए । अनिल यादवले २३ रन र पप्पु यादवले २२ रनको योगदान दिए ।
ओसिसका गौतम केसीले ३ विकेट लिए । आदिल खानले २ विकेट र सुमित श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच ओसिसका गौतम केसी घोषित भए ।
मंगलबारको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लबबीच हुनेछ । सोही दिन हुने दोस्रो बैशाली क्रिकेट क्लब पटना र नरपथगन्ज क्रिकेट क्लब बिहारबीच हुनेछ ।