काठमाडौं । मुलपानी मैदान पुननिर्माणका लागि प्रयोग भएका सामान १५-२० वर्ष केही नहुने नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले बताएका छन् ।
आगामी बैशाख ५ गतेबाट नेपालमा आयोजना हुने एसीसी प्रिमियर कप प्रतियोगिताको लागि मुलपानीको माथिल्लो क्रिकेट मैदान पुननिर्माण भईरहेको छ ।
पुननिर्माणमा प्रयोग भईरहेका सामान टिकाउ तथा गुणस्तरीय रहेको तथा आगामी १५-२० वर्षको लागि आफुले ग्यारेन्टी लिने कोषाध्यक्ष सिंहले बताए ।
'सबै सामानहरु बलियो रहेको छ । मलाई लाग्छ १५-२० वर्षसम्म त यो केही हुदै हुन्न र टिकाउ हुन्छ ,' सिंहले खेलपाटीसँग भने 'अझै केही दिन बाँकी रहेको छ । मैदान लगभग तयार भईसक्यो । पिचका केही काम बाँकी रहेका छन् । पानी परेर मैदान झनै राम्रो भएको छ । २-३ दिन पछि पिच रोलिङको काम भए पछि सबै कुरा फाइनल हुन्छ ।'
यो भन्दा अघि यो मैदान तथा यहाँको पिचका विषयमा केही नकारात्मक टिप्पणी सुनिएको भए पनि अहिलेको पटक भने अन्तराष्ट्रिय खेल पनि रहेकाले पिचमा भने धेरै सुधार भएको उनले बताए ।
'बंगलादेशमा पिचको काम गरेका केही प्राविधिकको सहयोगमा अहिले पिच निर्माण भईरहेको छ । उहाँहरुले विगत ६० दिन देखि काम गरिरहनु भएकाले पीच राम्रो बनेको भन्न सकिन्छ ,' सिंहले भने 'तर, पिच यस्तो नै बन्यो भनेर चै खेल भएपछि मात्र थाहा पाउने छौ ।'
दर्शकको बसेर खेल हेर्ने सुविधालाई नजिकबाट नियाली रहेको बताउदै सिंहले भने 'हामीसँग उपलब्ध रहेको स्थानमा धेरै नै दर्शकहरु अटाउन सक्नुहुन्छ । दर्शकहका लागि आवश्यक खानेपानी,शौचालय लगायतका विषयमा स्थानिय सरकारसँग पनि समन्वय भईरहेको र यसका लागि स्थानिय सरकारले पनि सकारात्मक जवाफ दिएको छ ।'
अभ्यास खेल तथा टिम अभ्यासका लागि क्यानले विभिन्न स्थानमा तयारी गरिरहेको सिंहले बताए ।
'टिमहरुलाई अभ्यासका लागि मुलपानीको दुवै मैदान तथा टियु मैदानमा समेत व्यबस्था गरेका छौ । राष्ट्रिय खेलकुद परिषद्कै मातहतमा रहेको तल्लो मुलपानीको मैदानमा समेत अभ्यास गर्न दिन हामीले राखेपलाई पत्राचार गरिसकेका छौ ।'