काठमाडौं । पाहुना टोली श्रीलंकाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्यान्डलाई पराजित गरेको छ।
यो जितसँगै पाहुना टोलीले तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता लिएको छ ।
इडेन पार्क अकल्यान्डमा भएको खेलको सुपर ओभरमा ९ रनको लक्ष्य श्रीलंकाले तीन बलमा पूरा गर्यो । सुपर ओभर घरेलु टोलीका लागि तीव्र गतिका बलर एडम मिल्नेले गरेका थिए ।
श्रीलंकाका लागि कुशल मेन्डिस र चरिथ असलंकाले ब्याटिङ गरेका थिए । एडम मिल्नेले पहिलो बल कुशल मेन्डिसलाई एक रन दिए ।
दोस्रो बलमा चरिथ असलंकाले छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै खेल सकाए । तेस्रो बल नोबल समेत भएको थियो ।
न्युजिल्यान्डले सुपर ओभरमा २ विकेट गुमाउँदै ८ रन बनाएको थियो । सुपर ओभर श्रीलंकाका स्पिनर महेश थिक्सेनाले गरेका थिए ।
घरेलु टोलीका ड्यारियल मिचेल र जेम्स निशमले ब्याटिङ गरेका थिए । पहिलो बल ड्यारिय मिचेललाई डट राख्दा दोस्रो बल वाइड फ्याँले । दोस्रो बलमा जेम्स निशम आउट भए ।
निशम आउट भए पछि क्रिजमा मार्क च्यापम्यान आएका थिए । च्यापम्यानले आफुले सामना गरेको पहिलो तथा टिमका लागि तेस्रो बल डट खेले ।
चौथो बलमा च्यापम्यानले दुई र पाँचौं बलमा चौका हानेका थिए । तर, अन्तिम बलमा च्यापम्यान पनि आउट भए ।
न्युजिल्यान्डलाई अन्तिम बलमा जितको लागि ७ रन चाहिँदा ईश सोधीले कप्तान दासुन शनकालाई छक्का हानेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
पाहुना टोलीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएपछि खेल टाई भएको थियो ।
घरेलु टोलीका लागि ड्यारियल मिचेलले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए । मार्क च्यापम्यानले २३ बलमा २ चौका र २ छक्कासहित ३३ रनमा आउट भए।
कप्तान टम लाथम १६ बलमा २७ तथा रचिन रविन्द्रले १३ बलमा २ चौका र २ छक्कासहित २६ रनमा आउट भए । जेम्स निशम १० बलमा १९ रनमा आउट भए ।
पाहुना टोलीका लागि वानिन्दु हसरंगा,कप्तान दासुन शनका र प्रमोद मधुशंकाले समान २/२ तथा महेश थिक्सेनाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो ।
श्रीलंकाका चरिथ असलंकाले ४१ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले ।
अनुभवी ब्याटर कुशल पेरेरा ४५ बलमा ४ चौका र १ छक्कासहित अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले ।
कुशल मेन्डिस ९ बलमा ३ चौका र २ छक्कासहित २५ रनको आक्रामक सुरुआत दिएकामा अर्का ओपनर पाथुम निशंका भने ईनिङको पहिलो बलमा नै आउट भए ।
वानिन्दु हसरंगा ११ बलमा २१ रनमा अविजित रहँदा धनन्जय डि सिल्भा १५ रनमा आउट भए ।
घरेलु टोलीका लागि जेम्स निशमले २ तथा एडम मिल्ने, बेन्जामिन लिस्टर र हेनरी शिफ्लेले समान १/१ विकेट लिए ।
दोस्रो टी-ट्वान्टी खेल बुधबार हुनेछ ।