काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिसले फेन्ड्स क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
जितसंगै पुलिसले ८ खेलबाट १४ अंक जाेडेकाे छ । फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा यथावत छ ।
खेलको तेस्रो मिनेटमा पुलिसले खेलमा अग्रता लिएकाे थियाे । रवि पासवानको पासलाई सदुपयोग गर्दै अभिषेक रिजालले किपर बिट भएको अवस्थामा गोल गरेका थिए। २० औ मिनेटमा रवि पासवानले पुलिसको अग्रता दोब्बर बनाए । हेम तामाङको पासलाई सदुपयोग गर्दै किपर बिट भएको अवस्थामा उनले गोल गर्न सफल भएका थिए ।
पुलिसले तेस्रो गोल ५९ औ मिनेटमा गर्यो । रवि पासवानमा पासमा कप्तान भरत शाहले हेड गोल गर्दै पुलिसलाई ३–० को स्थितीमा पुर्याएका थिए । त्यसको चार मिनेटपछि तेज तामाङले गोल गर्दै पुलिसलाई ४–० को अग्रता दिलाएका थिए । ८७ औ मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका निर कुमार राईले गोल गर्दै पुलिसलाई फराकिलो जित दिलाए ।
खेलकाे सुरूवातबाटै फेन्ड्सलार्इ दबाबमा राखेकाे पुलिसले पाँचौ मिनेटमा अग्रता दाेब्बर पार्ने माैका गुमाएको थियो । कप्तान भरत शाहको प्रहार पाेस्टकाे बारमा लागेर फर्किएको थियो । २४ औ मिनेटमा काउन्टर बलमा रबि शंकरले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
२९ औ मिनेटमा पुलिस फेरी गोल गर्न चुक्न पुगेकाे थियाे । फ्रेन्ड्सका गोलकिपर देब लिम्बु बिट भएको अवस्थामा भरतले प्रहार गरेको बल पोस्ट बाहिर गएकाे थियाे ।
उपाधि हाेडमा फर्कन काेशिश गरिरहेकाे पुलिसलार्इ फराकिलाे जितले राहत प्रदान गरेकाे छ । अाजै उपाधि हाेडमा रहेका अार्मी र मनाङले प्रतिस्पर्धा गर्दैछन् ।