काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
बिहान ११ बजे हुने पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ । दुवै टोलीको लक्ष्य स्पष्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्नु हो । पुलिस ७ खेलबाट ११ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
विभागीय टिम शीर्ष स्थानको मनाङ भन्दा १० अंकले पछाडी परेको छ । फ्रेन्ड्स ५ अंक सहित ११ औ स्थानमा छ ।
दिउँसो साँढे २ बजे हुने दोस्रो खेलमा उपाधि दाबेदार दुई टाली मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् ।
दुवै टोलीलाई उपाधि होड बलियो बनाउन जित आवश्यक छ । शीर्ष स्थानको मनाङको २१ अंक छ । आर्मी १७ अंक सहित तालिकाको चौथो स्थानमा छ ।