काठमाडौं । आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता आज सोमबार दुई खेल हुदैछ ।
विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा १/१ खेल हुदैछ ।
वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा पपुवा न्युगिनी(पीएनजी) र युएईबीच खेल हुदैछ । पहिलो खेल खेल्न लागेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहान्छन् ।
विश्वकप लिग टूको पुछारको दुई स्थानमा रहेर एकदिवसीय अन्तराष्ट्रिय मान्यता सिधा पाउने अवसर गुमाएका दुवै टोलीलाई एकदिवसीय मान्यता कायम राख्ने यो प्रतियोगिता नै अन्तिम अवसर हो ।
आज नै हुने अर्को खेलमा जर्सी र क्यानडा खेल्दै छन् । क्यानडाले २०१४ पछि पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल्दैछ । जर्सीले भने पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल्दैछ ।
दुवै टोली च्यालेन्ज लिग ए र बी का विजेताको रुपमा विश्वकप छनोट प्लेअफ खेल्नलागेका हुन् ।
दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।