काठमाडौं । अमेरिकाले विश्वकप छनोट प्लेअफको उद्घाटन खेलमा जित हात पारेको छ । उद्घाटन खेलमा अमेरिकाले घरेलु टोली नामिबियामाथि ८० रनको जितका साथ सुखद सुरुआत गरेको छ।
विन्डहोकमा अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको नामिबिया ४१ ओभर ४ बलमा अलआउट हुदै १ सय ५१ रन मात्र बनायो ।
नामिबियाका ओपनर शन फौचेले ९८ बलमा २ चौकासहित सर्वाधिक ५५ रनको अर्धशतकीय ईनिङ खेले । जान निकोल ३८ तथा कप्तान ग्रेहाड इरास्मस २२ रनमा आउट भए ।
पिक्की या फ्रान्सले १४ रन बनाउँदा नामिबियाका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अमेरिकाका अली खान र निसर्ग पटेलले समान ३/३ तथा जेसी सिंहले २ विकेट लिए । सौरभ नेत्रभाल्कर र गजानन्द सिंहले समान १/१ विकेट लिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनायो ।
अमेरिकाका लागि गजानन्द सिंहले ६३ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । नोस्तुशा केन्जिनेले ४३ बलमा ४३ रन बनाए । आरोन जोन्सले ३६ रनमा बनाउँदा जसदिप सिंहले ३३ रन बनाए ।
सुशान्त मोदिनीले १७ तथा शौरभ नेत्रभाल्करले अविजित १० रन बनाए । नामिबियाले २३ रन अतिरिक्त स्वरुप दिएको थियो ।
नामिबियाका लागि शान फोची र बेन शिकोन्गोले समान ३/३ तथा रुबेन ट्रम्पलम्यानले २ विकेट लिए ।
जित पछि अमेरिका १ खेलमा १ जितका साथ शिर्ष स्थानमा रहेको छ । नामिबिया भने दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेका छन् । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।