काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेल हुदैछ । टियु मैदान कीर्तिपुरमा दुवै खेल हुदैछ ।
आजको पहिलो खेलमा मधेश प्रदेश र ललितपुर मेयर्स ११ प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । आ-आफ्नो तेस्रो खेलमा आमनेसामने हुन लागेका दुवै टोलीले यस अघिका दुवै खेलमा हार व्यहोरेका थिए ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा जित निकालेको कोशी दोस्रो खेलमा भने पराजित भएको थियो । आजको खेलमा जित हात पारेर कोशी आफ्नो फाइनल सम्भावना बलियो बनाउन चाहान्छ ।
सुदूर तीन खेलमा दुई जितका साथ दोस्रो स्थानमा रहेको छ । आजको खेल जितेर सुदूर आफ्नो स्थान फाइनलमा पक्का गर्न चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।