काठमाडौं । अफगानिस्तानले पाकिस्तान विरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज एक खेल अगाबै जितेको छ ।
सोमबार राती शारजाहमा भएको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा पाकिस्तानमाथि ७ विकेटको जित निकालेको छ । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो ।
अफगानिस्तानले पाकिस्तानविरुद्ध जितेको यो पहिलो सिरिज हो ।
पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
अफगानिस्तानको जितमा ओपनर रहमानउल्लाह गुरबाजले ४९ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए ।
इब्राहिम जद्रान ४० बलमा ३८ रन बनाउँदा नाजिबउल्लाह जद्रान २३ रनमा अविजित रहे । मोहम्मद नाबी १४ रनमा अविजित रहँदा उस्मान घानी ७ रनमा आउट भए।
पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।
पाकिस्तानका लागि इमाद वासिम ५७ बलमा ३ चौका र २ छक्कासहित अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले।
कप्तान शादब खान २५ बलमा ३२ रनमा आउट हुँदा मोहम्मद हरिस १५ रनमा आउट भए ।
पाकिस्तानले आफ्नो ब्याटिङ ईनिङको दोस्रो र तेस्रो बलमा नै बिना रनमा दुई ब्याटर गुमाएको थियो ।
अफगानिस्तानका लागि फैजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले समान १/१ विकेट लिए ।
तेस्रो तथा अन्तिम खेल टी-ट्वान्टी खेल सोमबार राती हुनेछ ।