काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको साबिक बिजेता विभागिय टोली नेपाल एपिएफ क्बल एक खेल अगाबै फाइनलमा पुगेको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाईन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रन बनाईन् ।
कोशी प्रदेशका लागि अलिशा खडिया,कप्तान रुबिना क्षेत्री,निशा साहले समान १/१ विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो ।
कोशीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्रि २४ रन बनाईन् ।
अप्सरी बेगमले २२ रन बनाईन् ।
एपीएफका लागि कप्तान सिता राना मगरले ३ तथा इन्दु बर्माले १ विकेट लिईन् ।
जितसँगै एपिएफले ३ खेलमा ३ जित सहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ ।
एपीएफले एक खेल अगाबै फाइनलमा स्थान बनाएको छ ।
कोशी प्रदेश दुई खेलमा एक जित निकालेर २ अंकका साथ अंकतालिकाको पुछार रहेको छ । कोशीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागिता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।