काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लगातार दोस्रो हार व्यहोरेको छ ।
टियु मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएपछि मधेशले लगातार दोस्रो हार व्यहोरेको हो । सुदुरपश्चिमको यो दोस्रो जित हो ।
मधेशले दिएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रन बनाईन् ।
मधेशका लागि सरस्वती चौधरी,सन्तोषी चौथरी र अनुराधा चौधरीले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा अलआउट हुदै ६४ रन बनायो ।
मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि लक्ष्मी साउदले ३ तथा सम्झना खड्का र रितु कनौजियाले समान २/२ विकेट लिईन् ।
जितसँगै सुदुरले ३ खेलमा ४ अंक जोडेको छ । सुदुर दोस्रो स्थानमा उक्लिएको छ ।
अंक विहीन मधेश पुछारमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र विभागिय टोली नेपाल एपीएफ क्लबबीचमा प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा जित निकालेको कोशी आजको खेलमा लगातार दोस्रो जित हात पार्न चाहन्छ ।
एपीएफ दुई खेलमा दुई जितका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेल जितेर एपीएफ फाइनल यात्रा बलियो बनाउन चाहन्छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागिता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।