काठमाडौं । सिएमजी संकटा क्लब पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २ - ० गोल अन्तरले हराउंदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक एक गोल गरे ।
संकटाले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ११ औं मिनेटमा एकल प्रयासमा अबाले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको १४ औं मिनेटमा दिपेशले गोल गर्दै संकटालाई २ - ० को जित दिलाए । अमित तामाङ कडा प्रहार हिमालयनका किपरले क्लियर गर्न नसकेको बलमा दिनेशले गोल गरेका थिए ।
खेलमा संकटाका टाम्पी अर्नेस्ट म्यान अफ दि म्याच चुनिए ।
जितसंगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । र, सातौं जित निकालेको संकटाले शीर्ष स्थानको सिग्नेचर मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । मनाङले एक खेल कम खेलेको छ ।
हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ ।