काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन दिनको दोस्रो खेलमा नेपाल एपीएफ क्लबले सानदार सुरुआत गरेको छ ।
टियु मैदानमा भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।
५९ रनको लक्ष्य एपीएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
एपीएफका लागि कप्तान सीता राना मगरले अविजित ४५ र ज्योती पान्डेले ८ रन बनाईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकोमा १९ ओभर ४ बलमा अलआउट हुदै ५८ रन बनायो ।
मधेशका साना प्रविनले २५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपीएफका लागि सोनु खड्काले ४ र सीता राना ३ विकेट लिईन् ।
गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ । ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्दैछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।