काठमाडौं । सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १ - ० गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोरले गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाएका हुन् ।
खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीमा भिक्टोरले गोल गरेका थिए । त्यसअघि सरस्वतीले गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच चुनिए ।
जितसंगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । र, सरस्वती लिगको नवौं स्थानमा छ । एनआरटीको भने यो लगातार सातौं हार हो । एनआरटीले ८ खेलमा १ अंक जोडेको छ । एनआरटी लिगको पुछारमा छ ।