काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगको फाइनल खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्सले १ सय ४८ रनको लक्ष्य पाएको छ ।
खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा वल्र्ड जायन्ट्सले टस जितेर पहिले ब्याटिङ रोजे पछि लायन्सले पहिले बलिङ गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
जायन्ट्सका लागि ज्याकक्विस कालिसले ५४ बलमा अविजित ७८ रनको अर्धशतकीय ईनिङ खेले । कालिसले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
रोस टेलरले ३३ बलमा ३२ रन बनाउँदा लिन्डल सिमोन्सले १७ रन बनाए ।
लायन्सका लागि अब्दुर रज्जाकले २ तथा थिसारा परेराले १ विकेट लिएका थिए । पारसले प्लेईङ-११ मा स्थान बनाए पनि बलिङमा भने मौका पाएनन् ।
इलिमिनेटर खेलमा इन्डियन महाराजलाई पराजित गर्दै एसिया लायन्सले फाइनलमा स्थान बनाएको हो । वल्र्ड जायन्ट्स भने समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल प्रवेश गरेको हो ।
समूह चरणको दुई खेलमा लायन्स र जायन्ट्सबीचको खेलमा १ खेलमा लायन्स तथा १ खेलमा जायन्ट्स विजयी भएका थिए।
ईलिमिनेटर खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्लेईङ(११ मा मौका पाएका थिए । त्यस खेलमा पारसले बलिङ र ब्याटिङको कुनै अवसर पाएनन् ।