काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा च्याम्पियन बन्न सकेमा नेपालले ईतिहासमा पहिलो पटक भारत पाकिस्तानसँग खेल्ने अवसर पाउँने छ ।
नेपालमा नै आगामी महिना आयोजना हुने प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ । च्याम्पियन टोली भारत र पाकिस्तान रहेको समूहमा रहने छ ।
नेपाल आफ्नो समूहको शीर्ष दुईमा रहि सेमिफाइनल प्रवेश गर्ने पहिलो लक्ष्यमा रहने छ । सेमिफाइनलको विजेता बन्दै फाइनल जितेर च्याम्पियन बनेर नेपाल त्यो अवसर सिर्जना गर्न चाहन्छ ।
नेपाल रहेको समूह 'ए' मा कुवेत,साउदी अरेबिया, कतार र युएई रहेका छन् । अर्को तर्फ समूह 'बी' मा बहराइन,मलेसिया,सिंगापुर,हङकङ र ओमान रहेका छन् ।
बहराईन र साउदी अरेबियाले च्यालेन्जर कपको शीर्ष दुईमा रहदै प्रिमियर कपमा स्थान बनाएका हुन् ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।
एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
एसिया कप सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । तर, भारतले पाकिस्तानमा नखेल्ने अडान लिएका कारण प्रतियोगिता युएईमा सर्ने सम्भावना छ ।
प्रिमियर कपको शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।