काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजबाट आठौ चरणका खेल सुरु हुदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको पहिलो खेलमा न्युरोड टिम एनआरटी र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।
तालिकाको पुछारमा रहेको एनआरटी सातौ चरणको खेल सकिदाँ जित विहिन छ । लिगको पहिलो खेलमा आर्मीसंग बराबरी खेल्नु बाहेक एनआरटी सबै खेलमा पराजित छ ।
विदेशी खेलाडीको प्रभावमा लिगमा राम्रो प्रर्दशन गर्दै आएको सरस्वती भने पुछारको टिमलाई हराउँदै अंक तालिकामा स्थान सुधार गर्ने अपेक्षा राखेको छ । सरस्वती ६ अंक सहित नवौ स्थानमा रहदाँ एनआरटी १ अंक सहित तालिकाको पुछारमा छ ।
एपीएफको हलचोक मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा एपीएफले जावलाखेल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । स्वभाविक लयमा देखिन नसकेको एपीएफलाई लिग चरणको आठौ खेलमा घरेलु मैदानमा खेल्ने अवसर प्राप्त छ ।
लिगको पुछारतिर रहेको क्लब जावलाखेललाई हराउँदै अंक तालिकामा सुधार गर्ने लक्ष्य एपीएफले राखेको छ । जावलाखेल ४ अंक सहित तालिकाको ११ औ स्थानमा छ । एपीएफ १० अंक सहित आठौ स्थानमा छ ।
सोही समय एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लबले हिमालयन शेर्पासंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधि होडमा रहेको संकटा हिमालयन शेर्पालाई हराउँदै शीर्ष स्थानको मनाङ माथि दबाब राख्न चाहन्छ । शेर्पाविरुद्वको जितले संकटाले शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्नेछ ।
संकटा ७ खेलबाट १८ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । शेर्पा ११ अंक सहित छैटौ स्थानमा छ । संकटालाई पराजित गर्दै शेर्पा क्लबलाई समेत अंक तालिकामा सुधार गर्ने अवसर प्राप्त छ ।