काठमाडौं । कतारमा जारी रहेको लिजेन्डस् क्रिकेट लिगमा फाइनल प्रवेशका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्सले फाईनलमा स्थान बनाएको छ ।
फाइनलमा स्थान पक्का गर्ने क्रममा शनिबार राती भएको खेलमा लायन्सले ईण्डियन महाराजलाई पराजित गरेको हो ।
कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा भएको ईलिमिनेटर खेलमा महाराजलाई ८५ रनको अन्तरले पराजित गर्दै लायन्सले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको महाराज १६ ओभर ४ बलमा अलआउट हुदै १ सय ६ रन मात्र बनाउन सक्यो ।
महाराजका लागि ओपनर तथा कप्तान गौतम गम्भिरले १७ बलमा ३२ तथा सुरेश रैनाले १८ रन बनाए । ओपनर रोविन उथप्पा १५ रनमा आउट हुँदा मोहम्मद कैफले १४ रन बनाए ।
महाराजका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लायन्सका लागि सोहेल तनविर,अब्दुर रज्जाक र मोहम्मद हाफिजले समान २/२ तथा दिलकरत्ने दिल्शान,शाहिद अफ्रिदी र ईर्सु उडानाले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर लायन्सले पहिले ब्याटिङ रोजेको लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
लायन्सका लागि ओपनर उपुल थरंगाले ३२ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद हाफिजले ३८ तथा अस्गर अफगानले अविजित ३३ रन बनाए ।
तिलकरत्ने दिल्सानले २७ तथा थिसारा परेराले २४ रन बनाए ।
महाराजका लागि स्टुअर्ड बिन्नी र प्रज्ञान ओझाले समान २/२ तथा प्रविन ताम्बेले १ विकेट लिए ।
लायन्सले फाइनलमा वल्र्ड जायन्ट्ससँग खेल्नेछ । जायन्ट्स समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल प्रवेश गरिसकेको छ ।
उक्त ईलिमिनेटर खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्लेईङ-११ मा मौका पाएका थिए । तर, उनले बलिङ र ब्याटिङको अवसर भने पाएनन् ।
जायन्ट्स र लायन्सबीचको फाइनल खेल आगामी सोमबार हुनेछ ।