काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई जनही दुई लाख रूपैयाँ दिने भएको छ।
राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ ।
नेपाललाई आईसीसी विश्वकप छनोटमा स्थान बनाउन योगदान दिने टोलीका सदस्य रहेका भीम र दीपेन्द्रलाई प्रदेश सरकारले सम्मान गर्ने भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक सफलता दिलाउन भूमिका खेलेको भन्दै सरकारले उनीहरूलाई नगद पुरस्कार प्रदान गर्न लागिएको हो।
यस्तै अन्तिम १४ रहेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा रहेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा भएको छ ।
सुदूरपश्चिम यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एकलाख पुरस्कार दिने घोषणा गरेको थियो ।
हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो ।
नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टिम अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो ।
नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा,दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए ।
यस्तै टिम अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा,सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक बिक्रम विष्ट,फिजियो पुरन तिरुवा रहेका थिए ।