काठमाडौं । बिहिबार युएईलाई डीएल पद्दतीमा पराजित गरि नेपाल एकदिवसीय विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको छ ।
विश्वकप छनोटमा १० टिमबीच खेल हुनेछ । छनोटमा सहभागी रहने दश मध्ये पाँच टिमको टुंगो लागिसकेको छ । अब पाँच टिमको टुंगो लाग्न बाँकी छ । जसमध्ये लिग टुबाट नेपाल, स्कटल्यान्ड, ओमान तथा सुपर लिगबाट जिम्बाब्वे र नेदरल्यान्ड्स गरी पाँच टिमले विश्वकप छनोट प्रतियोगिता खेल्ने पक्का भएको हो ।
अब प्ले अफका दुई टिम र सुपर लिगका तीन गरी पाँच टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड गरी चार टिममध्ये तीन टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।
प्ले अफमा खेल्ने ६ वटै टिमको टुंगो लागिसकेको छ । प्लेअफमा क्यानडा, जर्सी, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी छन् । नामिबियामा यही मार्च २६ देखि सुरू हुने प्ले अफका शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन् ।
भारतमा हुने विश्वकपमा लागि आयोजकसहित अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र बंगलादेश छनोट भइसकेका छन् । अब वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डमध्ये एक टिमले विश्वकपमा स्थान बनाउने छन् ।
२०२३ को अक्टोबरबाट भारतमा सुरू हुने विश्वकप क्रिकेटमा १० टिमको सहभागिता रहनेछ । जहाँ विश्वकप छनोटको शीर्ष दुई टिमले एकदिवसीय विश्वकपमा स्थान बनाउने छन् ।