काठमाडौं । नेपाली क्रिकेटको लागि बिहिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदान बिशेष बन्यो ।
हजारौं दर्शकका बीचमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईसँग प्रतिस्पर्धा गर्दै थियो ।
खेल बिहान साढे ९ बजेबाट सुरु हुने खेल तालिका थियो । हजारौं दर्शक बिहान ६ बजेदेखि नेपालको ऐतिहासीक खेल हेर्न बाजागाजा तथा विभिन्न ब्यानरसहित दर्शकदीर्घा प्रवेशका लागि लामबद्ध भएका थिए ।
दर्शकको चाहना थियो बिहिबारको खेलमा युएईलाई हराउँदै नेपाल जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगोस् ।
खेल सुरुहुनु भन्दा एक घण्टा अघि टस भयो । युएईले टस जितेर पहिले ब्याटिङको निर्णय लियो र नेपाललाई पहिले बलिङ गर्ने निम्ता दियो । जब नेपालको खेल सुरु भयो खेलमा नेपालले टस हरेर पहिले बलिङ गर्ने पक्का भइसकेको थियो । नेपालको प्लेइर्ङ-११ मा रहेका सबै खेलाडी मैदान प्रवेश गरे ।
युएईका ओपनर आर्यान लाक्रा ६ रनमा आउट भए । एक ओपनर आउट भए पनि अर्का ओपनर तथा कप्तान मुहम्मद वासिमले दोस्रो विकेटका लागि वृत्य अरबिन्दसँग मिलेर ८९ रनको साझेदारी गरे । युएई बलियो स्थितितर्फ जादै गर्दा वासिम ६३ रनको ईनिङ खेलेर आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङमा आएका वृत्य अरबिन्दले अन्तिम बलमा आउट हुनुअघि ९४ रन जोडेका थिए। युएईका लागि सातौं नम्बरमा ब्याटिङ गरेका आसिफ खानले आक्रामक शतक पूरा गरे । उनले ४२ बलमा अविजित १ सय १ जोडेका खानले ११ छक्का र ४ चौका प्रहार गरेका थिए ।
युएईले अन्तिम ७ ओभरमा १ सय १४ रन जोडेको थियो।
नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए।
अघिल्ला खेलमा किफायती बलिङ गर्ने गरेका सन्दीप बिहीबारको खेलमा भने महँगो सावित भए। एकदिवसीय अन्तराष्ट्रियमा नै आफ्नो खराब बलिङ गरेका सन्दीपले १० ओभरमा ८० रन खर्चिएर १ विकेट लिएका थिए ।
सन्दीपलाई ४९ ओभरमा युएईका आसिफले लगातार चार छक्का प्रहार गरेका थिए।
नेपालले सुरुआतमा खराब बलिङ गरेको थियो मध्य क्रममा पुन रन रोक्न सफल भयो । तर, अन्तिम १० ओभरमा नेपाल निकै महंगो बन्यो ।
नेपालको लागि युएईले दिएको ३ सय ११ रनको चुनौती भेटाउनु कठिन थियो तर असम्भव भने थिएन ।
हजारौं दर्शक उर्लिएको कीर्तिपुर मैदानमा नेपालले उत्कृष्ट खेल देखायो । नेपालले सुरुआतमै दबाबमा परेका थियो । तर, चार ब्याट्सम्यानले अर्धशतक प्रहार गर्दा नेपाल लयमा फर्कियो । नेपालको एकदिवसीय अन्तराष्ट्रियमा नै पहिलो पटक एकै खेलमा चार अर्धशतक बन्यो । नेपालका लागि गुलशन झा, कुशल भुर्तेल, भीम सार्की र आरिफ शेखले अर्धशतक पूरा गरे ।
नेपालले आफ्नो ब्याटिङ ईनिङको सुरुआती तेस्रो बलमा नै ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको थियो । तेस्रो ओभरमा कुशल मल्ल ५ रनमै गुमाउँदा नेपाल सुरूमै केही दबाबमा परेको थियो ।
त्यसपछि कप्तान रोहित कुमार पौडेल १६ रन जोडेर आउट भए । रोहित सातौं ओभरको पाँचौ बलमा आउट हुँदा नेपालले तेस्रो विकेट गुमाउँदा ३७ रन जोडेको थियो ।
त्यसपछि ओपनर कुशल भुर्तेल र भीम सार्कीले नेपालको इनिङ उकासे । कुशल ५० रन जोडेर आउट भए । उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । कुशलले भीमसँग चौथो विकेटका लागि ५१ रनको साझेदारी गर्दै नेपाललाई ९८ रनमा पुर्याए ।
कुशल आउट भएपछि भीमले आरिफ शेखसँग अर्को उत्कृष्ट साझेदारी गरे । भीमले आउट हुनुअघि ६७ रन जोडेका थिए । उनले ७६ बलमा ९ चौका हिर्काए । उनले पाँचौ विकेटका लागि आरिफसँग ८३ रनको साझेदारी गर्दै नेपालको स्कोरबोर्डमा १ सय ८१ रन हुँदा आसा पलाएको थियो । भीम ३१ ओभरको अन्तिम बलमा आउट भएका थिए ।
आरिफ शेखले पनि अर्धशतक बनाएपछि नेपालले विस्तारै खेल आफ्नो पक्षमा परेको थियो । आरिफले जुनेद सिद्धिकिको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि ५२ रन जोडे । आरिफले ६२ बलमा २ चौका प्रहार गरे ।
खराब प्रकाशका कारण ४४ ओभरमा ६ विकेट गुमेर २ सय ७९ रन थियो । जुन डिएल मेथडमा नेपाल जितको लागि ९ रन बढि थियो । र डीएल पद्दतीमा गएर खेल नेपालले ९ रनले जित्यो ।
एकदिवसीय अन्तराष्ट्रियको ईतिहासमा नेपालले डीएल पद्दतीबाट जितेको समेत पहिलो खेल हो ।