काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लगातार दोस्रो हार व्यहोरेको छ ।
कतारमा जारी रहेको लिजेण्ड्स लिगमा लगातार दोस्रो हार व्यहोर्ने क्रममा लायन्स वल्र्ड जायन्ट्ससँग पराजित भएको हो ।
लायन्सलाई २० रनले हराउँदै जायन्ट्स भने फाइनलमा पुगेको छ ।
जायन्ट्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको एसिया १९ दशमलब १ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
लायन्सका लागि ओपनर तिलकरत्ने दिलशानले सर्वाधिक ३७ रन बनाउँदा कप्तान शाहिद अफ्रिदीले २६ रन बनाए । मोहम्मद हाफिजले १३ तथा थिसारा परेराले २३ रन बनाए ।
लायन्सका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आठौं नम्बरमा ब्याटिङको मौका पाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारसले १० बलमा ८ रन बनाए ।
जायन्ट्सका लागि टिनो बेस्ट र क्रिस मफ्पुले समान ३/३ तथा ब्रेट ली र स्मित पटेलले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको जायन्ट्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो ।
जायन्ट्सका ओपनर हासिम अम्ला र ज्याक कालिसले अर्धशतकीय ईनिङ खेले । अम्लाले ५९ बलमा ९ चौका र १ छक्कासहित ६८ रनको योगदान दिए ।
ज्याक कलिसले ४३ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए ।
लायन्सका लागि मोहम्मद आमिर र सोहेल तनविरले समान १/१ विकेट लिए ।
जायन्ट्स ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको छ ।
लायन्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
इण्डियन महाराज ४ खेलमा १ मा जित ३ मा हारसहित पुछारमा रहेको छ । फाइनल प्रवेशका लागि लायन्सले शनिबार महाराजसँग खेल्नेछ ।
त्यस खेलको बिजेताले आगामी सोबार हुने फाइनलमा जायन्ट्ससँग खेल्नेछ ।