काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार युएईसँग खेल्दैछ ।
खेल बिहान साढे ९ बाट कीर्तिपरस्थित टियु मैदानमा हुनेछ । घरेलु टोली नेपालले अन्तिम खेलमा युएईलाई पराजित गर्दा जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउनेछ ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यस ऐतिहासिक खेलमा जित हात पारी नेपाल विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहान्छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ ।
विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउने छ । विश्वकप छनोटमा विश्वकप सुपर लिगको पुछारका ५ टोलीले विश्वकप छनोट खेल्नु पर्ने हुन्छ । सुपर लिगमा १२ टेस्ट राष्ट्र सहित नेदरल्याण्ड्स रहेको छ ।
आयोजक जिम्बाबे तथा आयरल्याण्डको विश्वकप छनोटमा स्थान पक्का भईसकेको छ । टेस्ट राष्ट्रहरु श्रीलंका,वेस्ट इण्डिज तथा दक्षिण अफ्रिका मध्ये दुईले विश्वकप छनोट खेल्ने पक्का रहेको छ ।
नेपालले २०१८ मा एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाए पछि टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्ने अवसर पाउनेछ । केही टेस्ट राष्ट्रसॅंग लिस्ट ए मान्यताको एकदिवसीय खेल खेलेको भए पनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्नेछ । यसका लागि बिहिबारको खेलमा नेपालले युएईलाई पराजित गर्नुपर्ने हुन्छ ।
नेपालको ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नेपालले बिहीबारको विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदा ४० अंक हुनेछ ।
४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ । तर, बिहिबारको खेलमा नेपाल पराजित भएमा भने मार्च अन्तिमबाट नामिबियामा हुने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।
कुनै कारण खेलको नतिजा नआए पनि नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ । नेपालले अवसर गुमाउँदा नामिबिया सोझै विश्वकप छनोटमा पुग्नेछ ।