काठमाडौं । आईसीसी विश्वकप लिग टू को अन्तिम खेलमा नेपालले युएईको सामना गर्नेछ ।
अगस्त १४ २०१९ मा पपुवा न्युगिनी(पीएनजी) र ओमानबीचको खेलबाट सुरु भएको विश्वकप लिग टू को १ सय ४० औं खेल बिहिबार हुदैछ । १ सय ४० औं खेल सहित बिश्वकप लिग टू सिरिजको लगभग चार वर्षे यात्रा समाप्त हुनेछ ।
विश्वकप लिग टूमा सात देशहरुको सहभागीता रहेको छ । नेपाल,युएई,पीएनजी,अमेरिका,ओमान,नामिबिया र स्कटल्याण्ड यसमा सहभागी रहेका छन् । हरेक राष्ट्रले होम अवे तथा तथस्ट मैदानमा गरि एक टोली विरुद्ध ६ खेल खेलेका थिए ।
लिग टूको शीर्ष तीनमा रहने राष्ट्रले एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाउने नियम अनुसार च्याम्पियन स्कटल्याण्ड र दोस्रो स्थानको ओमानले छनोटमा स्थान बनाईसकेको छ । तेस्रो टोली बिहिबारको नेपाल र युएईबीचको खेल पछि थाहा हुनेछ ।
युएईविरुद्धको खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउँछ । यदी युएई बिजयी भएमा नामिबियाले विश्वकप छनोटमा सोझै स्थान बनाउने छ । विश्वकप छनोटमा स्थान बनाउने टोलीले विभिन्न टेस्ट मान्यता प्राप्त टोलीहरुसँग खेल्ने अवसर पाउनेछन् ।
विश्वकप सुपर लिगका पुछारका ५ राष्ट्र,विश्वकप लिग टू का शीर्ष तीन राष्ट्र तथा विश्वकप छनोट प्लेअफका शीर्ष २ राष्ट्र गरि १० देशले विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटको शीर्ष २ देशले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप खेल्न पाउँनेछन् ।
लिग टूको पुछारमा रहने चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउने अर्को मौका स्वरुप विश्वकप छनोट प्लेअफ खेल्नेछन् । लिग टूका चार तथा विश्वकप च्यालेन्ज लिगका शीर्ष दुई(क्यानडा र जर्सी) टोलीसँग खेल्नु पर्ने हुन्छ । प्लेअफमा शीर्ष दुई टोली पनि विश्वकप छनोट खेल्न पाउने छ ।
विश्वकप लिग टूबाट पीएनजी,युएई र अमेरिकाले प्लेअफमा स्थान बनाउँदा नामिबिया र नेपाल मध्ये एक टोलीले पनि स्थान पक्का गर्नेछन् ।
नेपाल र नामिबिया मध्ये कुन टोलीले प्लेअफ खेल्ने भन्ने बिहिबारको नेपाल र युएईबीचको खेल पछि मात्र थाहा हुन्छ । नेपाल विजयी भएमा नामिबियाले सो मौका पाउने छ । नेपाल पराजित भएमा नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
मार्च १३ २०२० मा ओमानविरुद्ध टियु मैदानमा खेलेर लिग टूको यात्रा सुरु गरेको नेपालले बिहिबार टियु मैदानमा नै यात्राको समाप्ती गर्नेछ ।
विश्वकप लिग टू मा नेपालले आफ्ना ३६ मध्ये बिहिबारको अन्तिम खेल बाहेक ३४ खेल खेल्यो । नेपालले डिसेम्बर २ २०२२ मा नामिबियाविरुद्धको खेल वर्षाका कारण नतिजा बिहिन टुङ्गाएको थियो ।
जुन ११ २०२२ मा अमेरिकाविरुद्धको खेल बराबरी भएपछि नेपालले अंक बाडेको थियो । विश्वकप लिग टूका आजसम्म खेलेका ३५ खेलमा नेपालले १८ खेलमा जित १५ खेलमा हार तथा समान ११ खेलमा बराबरी र नतिजाबिहिन खेल खेलेको छ ।
नेपालले लिग टूका पछिल्ला ११ खेलमा १० जित हात पारेको छ । नेपालको खेल हुने टियु मैदानमा नेपाल ९ खेलबाट अपराजित रहेको छ ।