काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्सले ईण्डियन महाराजसँग लज्जास्पद हार ब्यहोरेको छ ।
लिजेण्डस् लिगको यस संस्करणको पहिलो हार व्यहोरेर्ने क्रममा लायन्स महाराजसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ ।
कतारको दोहामा आयोजना भएको सो खेलमा एसीयन लायन्सले दिएको १ सय ५९ रनको लक्ष्य महाराजले १२ दशमलब ३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
महाराजका ओपनरद्वय रोविन उथप्पा र कप्तान गौतम गम्भिरले अविजित अर्धशतक बनाए । उथप्पाले ३९ बलमा ८८ रन बनाए । उथप्पाले ११ चौका तथा ५ छक्का प्रहार गरेका थिए ।
कप्तान गम्भिरले ३६ बलमा ६१ रन बनाए । गम्भिरले १२ चौका प्रहार गरेका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एसीयन लायन्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
लायन्सका लागि ओपनर उपुल थरंगाले ४८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय ईनिङ खेले ।
अर्का ओपनर तिलकरत्ने दिल्शानले २७ बलमा ३२ रन बनाउँदा अब्दुल रज्जाक १७ बलमा २७ रनमा अविजित रहे ।
अस्गर अफगानले १५ रन बनाउँदा थिसारा परेरा ३ रनमा अविजित रहे ।
महाराजका लागि सुरेश रैनाले २ तथा स्टुअड्स् बिन्नी,प्रबिन ताम्बे र हरभजन सिंहले समान १/१ विकेट लिए ।
महाराजविरुद्धको खेलमा भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भने प्लेईङ११ मा मौका पाएका थिएनन् ।
पहिलो जित हात पारेको महाराज ३ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
तेस्रो खेलमा पहिलो हार व्यहोरेको लायन्स ४ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।
लिगमा वल्ड जायन्ट्स ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।
लिग चरणको खेलमा शीर्ष स्थानमा रहने टोलीले सिधा फाइनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीचको बिजेताले फाइनल खेल्ने छ ।
डबल राउन्डमा आयोजना हुने लिगको फाइनल खेल २० मार्च कतारको दोहामा हुनेछ ।