काठमाडौं । घरेलु टोली बंगलादेशले विश्वबिजेता इंग्ल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ ।
२०२२ को टी-ट्वान्टी विश्वकपको बिजेता इंग्ल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज बंगलादेशले क्लिन स्विप गरेको हो ।
बंगलादेशको मिरपुरमा भएको तेस्रो टी-ट्वान्टी खेलमा घरेलु टोली १६ रनले विजयी भएको हो ।
घरेलु टोलीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ मात्र बनाउन सक्यो ।
पाहुना टोलीका लागि ओपनर डाबिड मलानले ४७ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । मलानले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।
कप्तान जोस बटलरले ३१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४० रन बनाए । क्रिस वोक्स १३ रनमा अविजित रहँदा बेन डुकेट ११ रनमा आउट भए ।
घरेलु टोलीका लागि टस्किन अहमदले २ तथा तनविर इस्लाम,मुस्ताफिजुर रहमान र कप्तान शकिव अल हसनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा २ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।
घरेलु टोलीको जितमा ओपनर लिन्टन दासले ५७ बलमा ७३ रनको अर्धशतकी ईनिङ खेले । दासले १० चौका र १ छक्का प्रहार गरेका थिए ।
नजमुल होसाइन शान्तोले ४७ रनको अविजित ईनिङ खेले । शान्तोले ३६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरेका थिए ।
रोनी तालुकदारले २४ रन बनाउँदा कप्तान शकिव अल हसन ४ रनमा अविजित रहे ।
पाहुना टोलीका लागि आदिल राशिद र क्रिस जोर्डनले समान १/१ विकेट लिए ।