काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले मछिन्द्र युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले मछिन्द्रलाई १–० ले हराएको हो ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको मनाङले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेल सकिन पाँच मिनेट बाँकी छदाँ ओवावाले अफिजले गोल गर्दै मनाङलाई महत्वपुर्ण तीन अंक दिलाए । भिक्टोरको पासमा डि बक्स भित्रबाट अफिजले प्रहार गरेको बलले पोस्टको जाली चुमेको थियो ।
खेलको २१ औ मिनेटमा मनाङले अग्रता बनाउने अवसर गुमायो । डोना थापाले मिलाएको पासमा अन्जन विष्टले प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।
२९ औ मिनेटमा मछिन्द्रका अजित गुरुङको प्रहार मनाङका गोलकिपर बिशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।
५७ औ मिनेटमा गोलकिपर अगाडी बढेको स्थितीमा मनाङका अन्जन विष्टले हानेको बल दोस्रो बारमा लागेर फर्किएको थियो । ६१ औ मिनेटमा मनाङले पेनाल्टीको अवसर पाएको थियो । मनाङका अडिलाजालाई मछिन्द्रका डिफेन्डरले फल गरेपछि प्राप्त पेनाल्टीमा अन्जन विस्ट गोल गर्न चुके । उनले बाँया कर्नर च्याप्दै प्रहार गरेको बल मछिन्द्रका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
५९ औ मिनेटमा डोना थापाको स्थानमा मुख्य स्ट्राईकर ओलावाले अफिजलाई मैदान छिराएर मनाङ आक्रमक बनेको थियो । जितसंगै मनाङ ७ खेलमा सतप्रतिशत जित निकाल्दै तालिकामा २१ अंक जोडेको छ । मछिन्द्र तीन अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।