काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमबार दुई खेल हुदैछ । पहिलो खेलमा विभागीय टिम आर्मीले ब्रिगेड ब्वाईजसंग खेल्नेछ । अर्को खेलमा मनाङ मस्र्याङ्दीले मछिन्द्रलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।
आर्मी र मनाङ जारी लिगका उपाधि दाबेदार टोली हुन् । बराबरी वा हारको नतिजाले दुवै टोलीको उपाधि सम्भावना कमजोर बन्नेछ । शीर्ष तीन क्लबले हासिल गरेको समान अंकले समेत उपाधि माथिको प्रतिस्पर्धा प्रष्ट देखाउछ । सोही कारण उपाधिका बलिया प्रत्यासी आर्मी र मनाङ सहज जित निकाल्दै विपक्षीमाथि थप दबाब सिर्जना गर्न चाहन्छन् ।
मनाङ १८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तर समान अंक भएपनि मनाङले हेड टु हेडका आधारमा थ्री स्टारलाई पछाडी पारेको छ । तेस्रो स्थानको संकटाको समेत समान १८ अंक छ । तर गोल अन्तरका आधारमा संकटा पछाडी परेको छ । बलिया प्रतिद्वन्दीसंग अब हुने भिडन्तमा संकटाको बास्तविक जाँच हुने फुटबलका पण्डितहरु दाबी गर्छन् ।
यता, आर्मीसंग भिड्न लागेको ब्रिगेड र मनाङलाई चुनौती दिन लागेको मछिन्द्र आफै भने सहज स्थितीमा छैनन् । दुवै टोली तालिकाको पुछारतिर छन् । तर एपीएफविरुद्व सानदार जित निकालेको ब्रिगेडसंग अर्को विभागीय टिम आर्मी सचेत हुन भने जरुरी छ ।
तर प्रतियोगितामा एकैनासको प्रर्दशन गरेको मनाङले सोही प्रर्दशन मछिन्द्रविरुद्व दोहर्याउने कोशिश गर्नेछ । ब्रिगेड ४ अंक सहित ११ औ स्थानमा रहदाँ मछिन्द्र ३ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।