काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (आईतबार) तीन खेल हुदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने सातौ चरणको खेलमा विभागीय टिम एपीएफले सरस्वती युथ क्लब तथा थ्री स्टारले जावलाखेल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
बिहान ११ बजे एपीएफ र सरस्वती आमनेसामने हुनेछन् । एनआरटीविरुद्व अघिल्लो खेलमा प्राप्त नतिजालाई विभागीय टिम दोहर्याउने लक्ष्यमा हुनेछ । छैटौ चरणको खेलमा उपाधि दाबेदार थ्री स्टारलाई कडा टक्कर दिएको सरस्वती सोही प्रर्दशनलाई निरन्तरता दिने प्रयास गर्नेछ । एपीएफ ७ अंक सहित तालिकाको आठौ स्थानमा छ । सरस्वती ६ अंक सहित नवौ स्थानमा छ ।
यता, उपाधि दाबेदार थ्री स्टार क्लबलार्इ शीर्ष स्थानको मनाङसंग अंक बराबरी गर्ने अवसर प्राप्त छ । त्यसका लागि उसले जावलाखेलविरुद्वको खेलमा स्पष्ट जित निकाल्न पर्नेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । थ्री स्टार १५ अंक सहित तेस्रो स्थानमा छ । जावलाखेल ४ अंक सहित ११ औ स्थानमा छ ।
आजै हुने तेस्रो खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबसंग प्रतिस्पर्धा गर्नेछ । छैटौ चरणमा हिमालयन शेर्पाविरुद्व प्राप्त जितमा च्यासलले लयमा देखिएको संकेत गरेको छ । सोही प्रर्दशन फ्रेन्डसविरूद्दकाे खेलमा दोहर्याउन च्यासलकालागि चुनौतीपुर्ण छ ।
कारण, फ्रेन्ड्सले उपाधि दाबेदार मानिएको विभागीय टिम आर्मीलाई अघिल्लो चरणमा बराबरीमा रोकिदिएको थियो । च्यासल ७ अंक सहित तालिकाको सातौ स्थानमा र फ्रेन्ड्स ५ अंक सहित तालिकाको १० औ स्थानमा छ ।