काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (शनिबार) बाट सातौ चरणका खेल सुरु हुदैछ । पहिलो दिन नेपाल पुलिस क्लबले हिमालयन शेर्पा तथा एनआरटीले संकटा क्लबसंग प्रतिस्पर्धा गर्नेछन् । खेल एपीएफको हलचोक मैदानमा हुनेछ ।
बिहान ११ बजे भिड्ने पुलिस र हिमालयन शेर्पालाई अंक तालिकामा एक अर्कालाई उछिन्ने अवसर प्राप्त छ । दुवै टोलीले ६ खेलबाट समान १० अंक जोडेका छन् । गोल अन्तरका आधारमा पुलिस पाँचौ स्थान र हिमालयन छैटौ स्थानमा छ ।
तर पुलिसलाई मुख्य खेलाडीको चोटको पिरलो छ । रेजिन सुब्बा, समन लामा र हेम तामाङ चोटका कारण मैदान देखिनै छैनन् । दोहोरो पहेलो कार्डका कारण अघिल्लो खेल गुमाएका अजित भण्डारी हिमालयन शेर्पाविरुद्वको खेलमा मैदान उत्रनेछन् ।
आजै हुने दिनको दोस्रो खेलमा दिउँसो साढे २ बजे संकटा र एनआरटी आमने सामने हुनेछन् । लिगको उपाधि दौडमा देखिएको संकटालाई तालिकामा अझ मजबुद बन्ने अवसर सातौ चरणको खेलमा प्राप्त छ । कारण, उसले तालिकाको पुछारमा रहेको टोली एनआरटीलाई प्रतिद्वन्दीको रुपमा पाएको छ । एनआरटीले प्रतियोगितामा जित दर्ता गर्न सकेको छैन ।
संकटा १५ अंक सहित तालिकाको तेस्रो स्थान र एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ ।