काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उपाधि दाबेदार विभागीय टिम त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । बिहिबार भएको खेलमा आर्मीले एनआईबीएल फ्रेन्ड्स क्लबसंग गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सविरुद्ध एकतर्फी खेल खेलेपनि गोल गर्न नसक्दा आर्मीले अंक गुमाएको हो । पहिलो रोजाईका फरवार्ड तथा कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की बिना मैदान उत्रिएको आर्मीले गोल गर्न सकेनन् ।
भरत दुई पहेलो कार्डको कारण एक खेलको प्रतिबन्धमा रहेका थिए । जर्ज प्रिन्स आर्मी ट्रेनिङका लागि टिममा रहेका छैनन् । यसै खेलको ७५ औं मिनेटमा घाइते रहेका फरवार्ड नवयुग श्रेष्ठ मैदान प्रवेश गरेपछि आर्मीले खेल आफ्नो पक्षमा बनाउन सकेन ।
पहिलो रोजाईका फरवार्डको अनुपस्थितिमा आर्मीका अन्य फरवार्डले फ्रेन्ड्सविरुद्ध गोल गर्न सकेनन् । खेल अवधिभर आर्मीले पटक पटक गोलको प्रयास गरेको थियो । तर, आर्मीका आधा दर्जन बढी प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले विफल बनाईदिएका थिए ।
खेलमा फ्रेन्ड्सका देव लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
यो बराबरीसंगै आर्मीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानको आर्मीले ६ खेलबाट १४ अंक जोडेको छ । ५ अंक जोडेको फ्रेन्ड्स दशौं स्थानमा छ ।
खेलपछि बोल्दै आर्मीका प्रशिक्षक नबिन न्यौपानेले खेलाडीहरु फिट नहुदा बराबरीमा रोकिनु परेको बताए ।