काठमाडौं । च्यासल युथ क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २ - १ गोल अन्तरले हराएर च्यासलले दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा पहिलो हाफमा १- ० ले पछि परेको स्थिति उल्टाएर च्यासलले जित निकालेको हो । च्यासललाई जित दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको १६ औं मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई सुरुवाती अग्रता दिलाएका थिए । कर्ण लिम्बुले प्रहार गरेको बल पोष्ट बारमा लागेर फर्किएको रिबाउन्ड बललाई गुरुङले जाली चुमाएका थिए ।
तर, दोस्रो हाफमा च्यासल खेलमा फर्कियो । खेलको ५६ औं मिनेटमा हिमालयनका तीन डिफेन्डरलाई जिल्याउदै सन्तोषले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २ - १ ले विजयी भयो । सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो ।
खेलमा सन्तोष म्यान अफ दि म्याच चुनिए ।
जितसंगै च्यासलले ६ खेलबाट ७ अंक जोडेको छ । र, च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अंक जोडेर छैटौं स्थानमा छ ।