काठमाडौं । ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पाँचौ जित निकालेको छ । बुधबार भएको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २ - १ गोल अन्तरले पराजित गरेको हो ।
हलचोकस्थित एपीएफको मैदानमा थ्री स्टारले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले एक गोल गरे ।
खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा थ्री स्टारका रञ्जित धिमालले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ३६ औं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २ - १ को अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २ - १ ले आफ्नो बनायो ।
खेलमा थ्री स्टारका मिक्छेन तामाङ्ग म्यान अफ दि म्याच चुनिए ।
जितसंगै थ्री स्टारले लिगमा ६ खेलबाट १५ अंक जोडेको छ । र, थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंगको अंक दुरी ३ मा झारेको छ । सरस्वती ७ अंक जोडेर आठौं स्थानमा छ ।