काठमाडौं । पाहुना टोली श्रीलंकाले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली भारतलाई पराजित गरेको छ ।
भारतलाई १६ रनले पराजित गरेर पाहुना टोलीले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
श्रीलंकाका कप्तान दशान शनकाले सबैभन्दा कम बलमा अर्धशतक पूरा गरेका छन् ।
उनले श्रीलंका पूर्व कप्तान कुमार संगकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् ।
बिहिबार राती पुनेमा रहेको एमसीए क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाबाट २ सय ७ रनको लक्ष्य पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउँन सक्यो ।
भारतका लागि अक्षर पटेल र सुर्यकुमार यादवले ४० बलमा ९१ रनको साझेदारी गरेका हुन् ।
उनीहरु बीच तेस्रो विकेटका लागि यो साझेदारी भएको हो ।
पटेलले ३१ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । पटेलले ३ चौका र ६ छक्का प्रहार गरेका थिए ।
यादवले ३६ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । यादवले ३ चौका र ३ छक्का प्रहार गरे ।
शिबम मावीले २६ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्या १२ रनमा आउट भए ।
पाहुना टोलीका लागि कप्तान दाशुन शनका,दिल्सान मधुशंका र कुसुन रन्जिथाले समान २/२ तथा वानिन्दु हशरंगा र चमिका करुणरत्नेले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।
यो ईनिङमा सात नोबल भएको थियो । भारतीय बलर अर्शदिप सिंहले मात्र ५ नोबल गरेका थिए ।
श्रीलंकाले २० रन फ्रिहिटबाट बनाएको थियो । श्रीलंकाका लागि दशुन शनकाले २२ बलमा २ चौका र ६ छक्काको सहयोगमा ५६ रन बनाए ।
कुशल मेन्डिसले ३१ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । चरिथ असलंकाले ३७ रन बनाउँदा पथुम निशंका ३३ रनमा आउट भए ।
भारतका लागि उमरान मल्लिकले ३ तथा अक्षर पटेलले २ विकेट लिए । युजभेन्द्र चहलले १ विकेट आफ्नो नाम गरे ।
यस खेलमा २६ छक्का प्रहार भएका थिए ।
तेस्रो तथा निर्णयक टी-ट्वान्टी अन्तराष्ट्रिय शनिबार राजकोटमा रहेको छ ।