काठमाडौं । नेपाली क्रिकेट आईसीसीको निलम्बनमा रहदाँ खेलाडी जोगाउने सेतु बनेको थियो, फ्रेन्चाईज क्रिकेट । सुबास शाहीले सुरुवात गरेको धनगढी प्रिमियर लिग (डीपीएल) देखि आमिर अख्तरको एभरेष्ट प्रिमियर लिग (ईपीएल) हुँदै पारस–ज्ञानेन्द्रको पहलमा भएको पोखरा प्रिमियर लिग (पीपीपी) यसका कडी थिए । क्रिकेट निलम्बनमा रहदाँ यिनै तीन फ्रेन्चाईज क्रिकेटर जोगाएका थिए, क्रिकेट बचाएका थिए ।
फ्रेन्चाईज क्रिकेट आफैमा पैसाको खेल हो । नाम हुनेले दाम, दाम हुनेले नाम कमाउने, प्लेटफर्म । खेलभित्र मनोरञ्जन अनि मनोरञ्जनभित्र खेल जस्तो । फ्रेन्चाईज सुरु गर्न जति गाह्रो छ, त्यतीनै गाह्रो यसलाई जोगाउन छ । कोही शोखले, कोही सोचले फ्रेन्चाईज क्रिकेटमा लगानी गर्न त सक्छन्, तर टिक्न सक्दैनन् । त्यसैले पैसाको ब्यवस्थापन गर्न सक्ने प्रमाणित अनुहार यसमा खोजिन्छन् ।
आमिरको ईपीएल बाहेक अन्य फ्रेन्चाईजले गरि खान सकेनन् भन्दा फरक पर्दैन । डीपीएलमा भावना केही संस्करण चल्यो, त्यसमा फ्रेन्चाईजको इको सिस्टम थिएन भनिन्छ । मुख्य पात्रनै पर्दाभित्र रहेपछि पीपीएलको सोचले आकार लिन सकेन ।
जे थियो, ईपीएलको थियो ।
बजार, मान्छे, क्रिकेट, क्रिकेटर, क्रिकेट चलाउने सबैको नशा नशा बुझेका आमिरले ईपीएललाई साच्चिकै ‘नेक्स्ट लेभल’मा पुर्याएका थिए । क्यानका अध्यक्षको नाम मात्र चतुर हो, खासमा नेपाली क्रिकेटका चतुर त आमिरलाई मानिन्छ । घरि क्रिस गेल भनेर हल्ला पिटाएर होस, घरी साहिद अफ्रिदीको अनुहार देखाएर होस् । यति सानो बिज्ञापन बजारबाट उनले खुबै पैसा झारेका थिए । उनले ब्यवहारिक रुपमा सफल फ्रेन्चाईज क्रिकेट सञ्चालन गरेका थिए । विश्व खेलकुदको सफल मोडेल इङ्लिस प्रिमियर लिग (ईपीएल)लाई भारतीय क्रिकेटमा ललित मोदीले जसरी प्रयोग गरे, त्यही मोडेल आमिरले ईपीएलमा लागु गरे । ठुला घराना, मोटो पैसा, ग्लोबल रिच, अनि ठुला प्रायोजक उनको फ्रेन्चाईज सफलताका मुख्य राज रहे ।

आमिरले राम्रै पैसा कमाए । उनले ईपीएललाई स्पोटिङ इभेन्टबाट कमर्सियल ‘प्रोडक्ट’ बनाए । राम्रो ब्राण्ड बनाए । चर्चा यो पनि थियो, ईपीएललाई बजारमा ४० करोडको भ्यालुएसन दिन तयार थिए । सबै ठिक थियो । आमिरले ईपीएलमात्र हैन, नेपाली क्रिकेटमै एक प्रकारले कब्जा जमाईरहेका थिए । कुन ब्राण्ड, राष्ट्रिय क्रिकेट टिमको जर्सीमा राख्नेदेखि कुन टेष्ट राष्ट्रलाई नेपाल बोलाएर अन्तराष्ट्रिय सिरिज खेलाउनेसम्मको काम उनैकै तजबिजमा चल्थ्यो । एक समय क्रिकेटका केही पदाधिकारीको जहाजमा उड्नेदेखि देश, विदेश बस्ने, खाने, घुम्ने प्रबन्ध आमिरलेनै गर्ने गरेको क्यानका एक अधिकारी सुनाउँथे । समय उही रहन्न, रहेन ।
बिस्तारै क्यान र आमिरको हिसाब बिग्रन थाल्यो । पेमेन्ट डिलेदेखि चेक बाउन्ससम्मका समाचार बाहिर आउन थाले । अन्तराष्ट्रिय क्रिकेट सिरिजको कमर्सियल राईट्स लिने टेण्टरमा अरु कम्पनीले आमिरलाई पछि छाड्न थाले । क्यान र आमिरको दुरी बढ्दै गयो । मतभेद, मनभेदसम्म पुग्यो । यसैबीच क्यानले आफै फ्रेन्चाईज क्रिकेट गर्नुपर्छ र पैसा कमाउनुपर्छ भन्ने मत क्रिकेटमा उठेको लामो समय बनेबो थियो । नेपाल प्रिमियर लिग (एनपीएल) गर्नुपर्छ भनेर केही स्वदेशी र विदेशी कम्पनीसमेत क्यानका पदाधिकारीसँग नियमित सम्पर्कमा थिए । फुटबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) गरेको चौधरी समुह समेत फ्रेन्चाईज क्रिकेट आयोजनाको कोशिश गरिरहेको थियो । सम्बन्ध विस्तारकै खातिर चौधरी समुहले क्यानसँग उमेर समूहको प्रतियोगितामा रोकि राखेको वाईवाईको मुख्य प्रायोजनलाई नविकरण गरेको थियो ।
टोले क्रिकेट चलाउने हुती नभएका क्यानका शीर्ष पदाधिकारीले फ्रेन्चाईज क्रिकेट चलाउने आँट कहाँ गर्न सक्थे ! उनीहरुलाई फ्रेन्चाईज सञ्चालन गरेर वर्षको दुई करोड रोयल्टी दिने भारतीय कम्पनीको प्रस्ताव उचित लाग्यो । कामै नगरी संस्थाको खातामा दुई करोड आउने भएपछि क्यानको वर्तमान नेतृत्वले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग ८ वर्षका सम्झौता गर्यो । क्यानले यस प्रस्तावलाई साधारण सभामार्फत पारित गराउँदै तत्कालिन खेलकुद मन्त्री महेश्वर गहतराजको उपस्थितीमा औपचारिक कार्यक्रमको आयोजना गरेर घोषणा गर्नसम्म भ्यायो । खेलकुदमा विदेशी लगानी भित्रने र खेलाडीले ५ लाखदेखि १५ लाखसम्म कमाउने कुरामा क्यानका पदाधिकारीले खेलकुदमन्त्रीलाई कन्भिन्स गरेका थिए ।

क्यानले सबैभन्दा ठुलो गल्ती सुरुवाती निर्णय प्रक्रियामै गर्यो । यति ठुलो कार्यक्रम र आर्थिक विषय जोडिएको विषयमा क्यानले खुल्ला टेण्डर आह्वाननै गरेन । क्रिकेट बुझेका धेरैले यस सम्झौतामा आर्थिक चलखेल भएको अनुमान गर्छन् । क्यानले देशको प्रचलित ऐन, नियम र कानुनको धज्जी उडाउँदै सेभेन थ्री स्पोर्टसलाई ८ वर्षका लागि ब्यवसायीक अधिकार बेच्ने निर्णय गर्यो । क्यानले सुरुवातमै ‘ब्लन्डर’ गल्ती यहीनेर गरेको थियो ।
यही कानुनी पाटो समाउँदै ईपीएलका मालिक आमिर अख्तर नेपाल टी ट्वान्टी लिगविरुद्ध अदालत पुगेका छन् । मुद्धा अदालतमा विचाराधिन छ । अदालतले मुद्धा प्रक्रियालाई अघि बढाईरहेको छ । निर्णय के आउँछ, एकिन छैन । फैसला अनुकुल नआए टी ट्वान्टी लिगको भविष्य के हुने टुङ्गो नि भएन ।
दुई करोड पाउने सम्झौता गरेको क्यानले पैसा दिने कम्पनीको पृष्ठभुमीमा खासै चासो राखेन । मुल रुपमा खेलकुदको अन्तराष्ट्रिय ब्रोडकास्टिङको ब्यापार गर्दै आएको खेलकुदको कन्सलट्यान्ट कम्पनीलाई देशको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता सुम्पिदा क्यान र यसका शीर्ष पदाधिकारी गम्भिर नभएको आरोपलाई अहिलेका प्रारम्भिक घटनाले प्रमाणित गरेको छ । कानुनी प्रक्रिया पुरा नगरेपछि क्यान आफै प्रतियोगिता आयोजना र सञ्चालनमा खासै खुलेर काम गरेन, सकेन । सम्झौता गरेको कम्पनीले पनि नियत सफा देखिएन ।
टिमको घोषणादेखि टिम किन्ने मालिकसम्म, हुँदा हुदाँ अक्सनसम्म गोप्य रुपमा सम्पन्न गरियो । फ्रेन्चाईजको चरित्रनै बढी प्रचार खोज्ने हो । तर नेपाल टी ट्वान्टी लिगका धेरै निर्णय प्रक्रिया र कामहरु गोप्य रुपमा सम्पन्न भए । लुम्बिनी अल स्टार्स, पोखरा एभेन्जर्स बाहेकका मालिक खुलेर बाहिर आएका छैनन् ।
शहरको नामलाई फ्रेन्चाईजी दिएर त्यहाँको स्थानीयको भावनासँग खेल र प्रतियोगितालाई जोड्ने कामनै फ्रेन्चाईजको सफल मोडेल हो । फ्रेन्चाईज किन्ने मालिक, यसमा संलग्न ब्यक्ति, खेलाडी, इभेन्टसँग जोडिने ठुला नाम र दर्शकलेनै यसलाई भब्य बनाउने हो । तर नेपाल टी ट्वान्टी लिगमा सुरुवातदेखिनै टिमदेखि यसका धेरै मालिक गोप्य रहे । बेटिङ र फिक्सिङको आशंकाका बीच सुरुवात गरिएको प्रतियोगिताको मुख्य प्रायोजकनै बेटिङ ब्राण्ड रह्यो । खेलाडीको शंकास्पद प्रर्दशन, खेलको नतिजा अनि प्रतियोगितासँगै विकसित एक पछि अर्को नकारात्मक घटनाक्रमले नेपाल टी ट्वान्टी लिगलाई पहिलो सिजनमै ‘फ्लप’ बनाईदिएको छ ।
यसका देशका न ठुला ब्यवसायीक ब्राण्ड जोडिएका छन्, न त कोही प्रतिष्ठित कम्पनी वा अनुहार संलग्न छन् । बेटिङ र स्पट फिक्सिङका एकपछि अर्को घटनाले नेपाल टी ट्वान्टी लिगलाई क्यानले कस्तो प्रतियोगिता बनाउन खोजेको चित्र ‘क्लियर’ देखिदैन । प्रहरी, अख्तियारदेखि राखेपसम्मले यसलाई अनुसन्धानको दायरामा ल्याईसकेपछि यो प्रतियोगिताको सेफ ल्याण्डिङ कसरी हुन्छ ? अनुमान गर्न गाह्रो देखिन्छ ।

प्रतियोगिताको मुख्य ब्यवसायीक र रणनीतिक साझेदारनै बेपत्ता भएपछि मालिक नखुलेका टिमको हालत के हुन्छ ? क्यानसँग उत्तर छैन । बेटिङसँगै खेलाडी आफैले फिक्सिङको प्रस्ताव आईरहेको बताएका छन् । संलग्न कमेन्टेटर, क्रिकेट सफा रहेन भनेर अलग हुने घोषणा गरिरहेका छन् । क्यान आफैले प्रमाण सहित उजुरी गर्नुस भनेर उम्किन मिल्छ । आफ्नो असक्षमता, कमजोरी र हठ्ठीपनले फ्रेन्चाईजको नाममा नेपाली क्रिकेटलाई धरासायी बनाउने अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त बिक्रम मल्ल सहित निर्णय प्रक्रियामा संलग्न क्यानको सिंगो कार्यसमिति पक्कैपनि छानविनको दायरामा आउनेनै छन् ।
सूरुवातदेखिनै विवादीत बनेको यस प्रतियोगिताको औपचारिक घोषणा हुँदै गर्दा पत्रकारले प्रश्न गरेका थिए, बेटिङ्ग कम्पनीलाई किन नेपाल टी ट्वान्टी लिगको जिम्मेवारी दिनु भएको हो ? चर्को स्वरमा क्यानका सचिवले भनेका थिए, तलमाथि केही परे सुली चढ्न तयार छु, सबै जिम्मा म लिन्छु ।
प्रहरीदेखि अख्तियार, राखेपदेखि आईसीसीसम्मको अनुसन्धानको दायराभित्र नेपाली टी ट्वान्टी लिग आईसकेको छ । घटना गजजाहेर छ । प्रमाण भेटिए, अध्यक्ष चन्द र सचिव मल्ल यसको मुख्य मतियार हुनेछन् ।