काठमाडौं । काठमाडौमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले विराटनगर सुपर किंग्सलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
टियु मैदान किर्तिपुरमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।
विराटनगरका लागि साहाब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिए । राज नानन,विवेक यादव र कप्तान रोहितकुमार पौडेलले समान १/१ विकेट आफ्नो नाममा गरे ।
सात खेलमा दुई जित पाँच हार सहित विराटनगर ४ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।