काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राजधानीमा जारी नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधि भएका जानकारी भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ ।
क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै नेपाल टी-ट्वान्टीमा फिक्सिङ भएकोबारे जानकारी भएमा क्यानको केन्द्रीय कार्यालय वा नेपाल टी-ट्वान्टी लिगको एन्टी करप्सन युनिट (एसयू) मा उजुरी गर्न आग्रह गरेको हो ।
क्यानले प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला भ्रामक र मिथ्या भएको समेत जनाएको छ ।
'नेपाल क्रिकेट संघको आयोजनामा पौष ९ गते देखि काठमाडौंमा संचालन भईरहेको नेपाल टी-ट्वान्टी प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलाईएको अनेक भ्रामक तथा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुऱ्याउने गरि फैलाईएको यस्ता गतिविधि अन्त्य गर्ने नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउदै यस प्रकारका म्याच फिक्सीङका बारेमा जानकारी भएमा प्रमाण सहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी-ट्वान्टीको एन्टी करप्सन युनिट (एसयू) मा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ ।'
यस्तै क्यानले संघ र राष्ट्रको नाममा मिथ्यता तथा भ्रामक सूचनाहरु नफैलाउन आग्रह गरेको छ ।
