काठमाडौं । नेपालको नम्बर एक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल काठमाडौं ओपन गल्फको तेस्रो दिन पनि आफ्नो अग्रता कायम राखेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बिहिबार १ अन्डर ६७ स्कोर जोड्दै कुल ११ अन्डर १९३ स्कोर कार्डसहित शिवरामले अग्रता कायम राखेका हुन् । शिवरामले दोस्रो स्थानको शुक्र बहादुर राई र तेस्रो धन बहादुर थापालाई ६ स्ट्रोक्सले पछि पारेका छन् ।
एमेच्योर शुक्रले बिहिबार इभन पार ६८ तथा धनले ३ अन्डर ६५ स्कोरसहित कुल ५ अन्डर १९९ स्कोर बनाएका छन् ।
बिहिबार २ ओभर ७० स्कोर गर्दै ४ अन्डर २०० स्कोर कार्डसहित विकास अधिकारी चौथो र २०१ स्कोरकार्डसहित टंक बहादुर अधिकारी पाँचौ स्थानमा रहेका छन् ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ८ एमेच्योरसहित कुल ४१ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ३६ होलको प्रतियोगितामा शीर्ष २१ प्रोफेसनल र ६ एमेच्योरले फाइनल चरणमा स्थान बनाउने छन् ।
विजेताले ९५ हजार, उपविजेताले ६५ हजार र तेस्रोले ५५ हजार पाउनेछन् ।