काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल काठमाडौं ओपन गल्फको पहिलो दिन प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले अग्रता बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा मंगलबार ६ अन्डर ६२ स्कोर जोड्दै शिवरामले अग्रता बनाएका हुन् । उनले भुवन नगरकोटी र टंक बहादुर कार्कीलाई २ स्ट्रोकले पछि पारेका हुन् । ४ अन्डर ६४ स्कोर जोडेर भुवन र टंक संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् ।
धन बहादुर थापा र रामे मगर ३ अन्डर ६५ स्कोरसहित चौथो र पाँचौमा रहदा २ अन्डर ६६ स्कोरसहित विकास अधिकारी छैटौं स्थानमा रहेका छन् ।
प्रतियोगितामा ३३ प्रोफेसनल र ८ एमेच्योरसहित कुल ४१ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । ३६ होलको प्रतियोगितामा शीर्ष २१ प्रोफेसनल र ६ एमेच्योरले फाइनल चरणमा स्थान बनाउने छन् ।
विजेताले ९५ हजार, उपविजेताले ६५ हजार र तेस्रोले ५५ हजार पाउनेछन् ।