काठमाडौं । सफ्टावारिकाका स्यान्टु श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिता अन्तर्गत कलेजतर्फ पुरुष सिंगल्सको उपाधि जितेका छन्।
स्यान्टुले फाइनलमा आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपालीलाई ११–८, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको महिलामा सीसीआरसीकी दीक्षा तामाङले लिभरपुलकी सिक्का सुवाललाई ११–९, ४–११, ११–६ र ११–९ को सेटमा हराउदै स्वर्ण जितिन् ।
कलेजतर्फ टिम इभेन्टको पुरुषमा टाइम्स र महिलामा सीसीआरसी पहिलो भए । विजेता दुवैले फाइनलमा लिभरपुललाई समान ३–२ को नतिजामा पाखा लगाए ।
स्कुलतर्फ यु–१० ब्वाइज सिंगल्समा सिद्धार्थ बनस्थलीका उज्ज्वल मानन्धर तथा गल्र्समा युलेन्सकी सुभश्री श्रेष्ठ पहिलो बने । फाइनलमा उज्ज्वलले ब्लु बर्डका रितेश खड्कालाई ११–८, ११–६ र ११–५ तथा सुभश्रीले नेसनल चिल्ड्रेनकी अनामिका कस्तीलाई ११–१३, ११–५, ११–५ र ११–४ ले निराश पारे ।
पाराको बहिरातर्फ पुरुष सिंगल्स फाइनलमा दिनेश महर्जनले मनोज बस्नेतलाई ११–९, ११–८, ९–११, ७–११ र १६–१४ ले पन्छ्याउदै पहिलो भए ।