काठमाडौं । नेपालगन्ज हाफ म्याराथनको उपाधि एपीएफकी कान्छिमाया कोजुले जितेकी छिन् । शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा पार गर्दै कोजुले उपाधि उचालेकी हुन् ।
उपाधिसंगै कोजुले ३० हजार रुपैयाँ प्राप्त गरिन् । कोजु नेपालगञ्ज म्याराथनको दोस्रो संस्करणको समेत विजेता हुन् ।
विभागीय टिम एपीएफको बर्चस्व रहेको हाफ म्याराथनमा बिन्द्रा श्रेष्ठ दोस्रो भईन् । उनले निर्धारित दुरी १ घण्टा २५ मिनेट ४४ सेकेन्डमा पुरा गरिन् । एपीएफकै कृष्णाश्वरी सिन्तकला तेस्रो भईन् । उनले निर्धारित दुरी १ घण्टा ३१ मिनेट ४५ सेकेन्डमा पार गरिन् ।
दोस्रो भएकी बिन्द्राले १५ र तेस्रो भएकी सिन्तकलाले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
नेपालगञ्ज म्याराथनको ५ किलोमिटर पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भएका छन् । बुढाले १६ मिनेट ३५ सेकेन्डमा दुरी पार गरेका थिए । यो विधामा द्वितिय माधव चौधरी, तृतिय सन्तोषनाथ योगी र चौथो प्रकाश कठायत भए ।
५ किलोमिटर महिलातर्फ कालिकोटकी मंगला बुढा १९ मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै प्रथम भइन् । अनिशा चौधरी द्वितिय, सुमित्रा चौधरी तृतिय र रेजिना बस्नेत चौथो भइन् ।
५ किलोमिटर पुरुष र महिलाका विजेताले ५ हजार, तीन हजार, दुई हजार र एक हजार पुरस्कार पाएका छन् ।
एक किलोमिटर वाकाथनमा प्रदीप पण्डित प्रथम भएका छन् ।
नेपालगञ्ज म्याराथनका अवसरमा आयोजक क्रियटिभ ह्याण्डसले ओलम्पियन हरि रोकायलाई सम्मान गरेको थियो ।
म्याराथनका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले पुरस्कृत गरे ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वली, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री, काठमाडौं म्याराथन सञ्चालक निलेन्द्र श्रेष्ठ, राखेपका सदस्य विनोद मैनाली, सहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने, खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना, बाँकेका प्रहरी प्रमृख एसपी अरुण पौडेल, राखेप सदस्य एकेन्द्र कुँवर, सिएसटी होटलका प्रबन्ध निर्देशक टोपबहादुर थापा, उद्योगपति होम पाण्डे, ओलम्पियन रघुराज वन्त, आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतको उपस्थिति रहेको थियो ।