काठमाडौं । इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान गरेका छन् । प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा समान ५ – ५ महिला र पुरुष खेलाडी दक्षिण कोरिया प्रस्थान गरेका हुन् ।
नेपाल तेक्वान्दो संघको विशेष पहलमा १० खेलाडीले कोरियामा वैदेशिक प्रशिक्षण गर्ने मौका पाएका हुन् । नेपाली टोलीले सोलको चुङ वो मार्सल आर्टस् इन्सिच्युटमा ३ महिना प्रशिक्षण गर्ने छन् । नेपाली टोली इन्डोनेसियामा हुने एसियन गेम्समा सहभागि हुनेछन् ।
कोरिया जाने नेपाली टोलीमा पुरुषतर्फ ५८ केजी मुनि सागर गुभाजु, ६३ केजीमुनि वीरबहादुर महरा, ६८ केजीमुनि ज्ञानेन्द्र हमाल, ८० केजी मुनि भुपेन श्रेष्ठ र ८० केजीमाथि अनोज पुजारी रहेका छन् । महिलातर्फ ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनि निमा गुरुङ, ५७ केजीमुनि ज्ञानी चुनारा, ६७ केजीमुनि संगिता बस्याल र ६७ केजीमाथि निशा रावल रहेकी छिन् ।
कोरिया जाने नेपाली टोलीलाई खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले विदाई गरेका थिए । विदाईमा बोल्दै सदस्यसचिव विष्टले खेलाडीका लागि आफूले हरेक किसिमको प्रयास गरिरहेको बताए ।
यस्तै विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, भानबहादुर चन्द, संघका महासचिव दीपराज गुरुङ र सचिव एवं प्रवक्ता दीपक विष्ट लगायतका पदाधिकारीहरु रहेका छन् ।