काठमाडौं । चौथो संस्करणको नेपालगञ्ज म्याराथन प्रतियोगितामा हजार बढी खेलाडीले सहभागिता जनाउने भएका छन् ।
शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्वता भन्ने नाराका लागि भोली (शनिबार) हुने प्रतियोगितामा हजार बढी सहभागीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
‘एक हजार बढी खेलाडीले नाम दर्ता गराएका छन् । करिब त्यतिनै संख्यामा सहभागि प्रतियोगितामा दौडने अपेक्षा गरेका छौ ।’ आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले भने ।
दश बर्षे शसस्त्र द्वन्दको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुँदै आएको छ ।
विभिन्न संघ संस्थाको सुझावका आधारमा बिदाको दिन पारेर मंसिर ८ गते प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।
नेपालगन्ज म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुल्लातर्फ २१ किलोमिटर हाफ म्याराथन स्पर्धा समावेश गरिएको छ ।
म्याराथनमा प्रथम हुनेलाई ६० हजार, दोस्रोलाई ३० , तेस्रोलाई २०, चौथोलाई १०, पाँचौंलाई ८, छैटौंलाई ७ , आठौंलाई ६ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
त्यसैगरी हाफ म्याराथनमा प्रथमलाई ३० हजार, दोस्रोलाई १५, तेस्रोलाई १०, चौथोलाई ५, पाँचौंलाई ४, छैटौंलाई ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
त्यसैगरी विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । शारीरिक अपाङगता भएका व्यक्तिहरुका लागि खुला दुई किलोमिटर ट्राइसाइकल दौड राखिएको छ ।