काठमाडौं । चौथो संस्करणको नेपालगञ्ज म्याराथन प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्वता भन्ने नाराका लागि शनिबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
दश बर्षे शसस्त्र द्वन्दको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुदै आएको थियो । विभिन्न संघ संस्थाको सुझावका आधारमा बिदाको दिन पारेर मंसिर ७ गते प्रतियोगिता गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जनाएका छन् ।
नेपालगन्ज म्याराथनमा खुल्ला पुरुषतर्फ ४२ किलोमिटर दौड, महिला खुल्लातर्फ २१ किलोमिटर हाफ म्याराथन स्पर्धा समावेश गरिएको छ । म्याराथनमा प्रथम हुनेलाई ६० हजार, दोस्रोलाई ३० , तेस्रोलाई २०, चौथोलाई १०, पाँचौंलाई ८, छैटौंलाई ७ , आठौंलाई ६ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
त्यसैगरी हाफ म्याराथनमा प्रथमलाई ३० हजार, दोस्रोलाई १५, तेस्रोलाई १०, चौथोलाई ५, पाँचौंलाई ४, छैटौंलाई ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । त्यसैगरी विद्यालयस्तरीय पाँच किलोमिटर छात्र एवं छात्रा दौड पनि समावेश गरिएको छ । शारीरिक अपाङगता भएका व्यक्तिहरुका लागि खुला दुई किलोमिटर ट्राइसाइकल दौड राखिएको छ ।
तीन विधामा शीर्ष चार जनालाई पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद दिइने आयोजकले जनाएको छ । त्यस्तै बिभिन्न पेशा र व्यवसायमा संलग्नहरुलाई लक्षित गरी दुई किलोमिटर वाकाथन पनि समावेश गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको अगाडिबाट सुरु हुने म्याराथन कोहलपुर चौराह भन्दा ४ किलोमिटर उत्तरतर्फ पुगेर फर्कनेछ । हरेक दौड पुन नगरपालिका अगाडि आएर पुरा हुने दौड निर्देशक चन्द्रबहादुर गुरुंगले बताए ।
नेपालगन्ज उपमहानगरपालि, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकालाई जोड्ने म्याराथनमा स्थानीय तथा राष्ट्रियस्तरका धावकहरु समेत सहभागि हुनेछन् ।